हिमाली शेर्पा

     

 
 
 
मृत्यू सम्बन्धि संस्कार

शेर्पा समुदायमा मृत्यू संस्कार बौद्धधर्म ञीङमपा सम्प्रदायको कर्मकाण्ड अनुसार सम्पन्न गरीन्छ। जस अनुसार कसैको मृत्यू हुना साथ सर्वप्रथम मृतकको सिरानिको छेउमा धूप र छ्योमीन बाल्नु पर्दछ। लामा पुरोहीत हरु बोलाई धार्मीक बिधीअनुसार पाठपुजा गर्नु पर्दछ। ठुला ठूला लामाहरु बाट फोवा हाल्नु पर्दछ। लासलाई धार्मीक बिधी अनुसार ठु ( पवित्र पानी) हालेको पानीले नुहाई सेतो कपडाले बेह्री सिङारिएको ठाउँमा राखीन्छ। लामा बाट लास संस्कार गर्ने साईत हेराएर ३ दिन देखी १ हप्ता सम्म घरमानै वा आफनो घर नभएमा मृत्यूसंस्कार गर्ने सुबिधा भएका सार्वजनीक गुम्बाहरुमा राखी दिन् रात पुजा गरिन्छ। शेर्पासमाजमा कसैको मृत्यूभएमा मृतकको नाताहरु धुप, र छोव (प्रसाद) लिएर जाने प्रचलन छ। लास संस्कार गरिने दिन पनि सबै नाता कुटुम्ब तथा मित्रहरु जम्मा भै दाह संस्कारको लागी जानु पर्दछ। लासलाई संस्कार गर्न तोकिएको स्थानमा लगी धार्मीक बिधीबिधान अनुसार पाठपुजा गरि जलाउने चलन छ। लासमा आगो लगाएपछी सबै मलामिहरुलाई पैसा दिइने चलन छ यसलाई लक्पा रब्चे भनीन्छ।मृत्यू पछीपनि आत्मा आफ्नो घर परिवारको वरिपरीनै घुमी रहन्छ भन्ने बिस्वाश मा दाह संस्कार पछी मृतकको पुतला बनाई सो पुतलालाई बिहान बेलुकिको खाना दिने र मृत्यू पछी हुने कुराहरुको जानकारी दिन एक जना लामा पुरोहीत मृतकको घ्यवा नसकुनजेल सम्म संगै राखने चलन छ। यस प्रकृयालाई शेर्पा भाषामा (तेन स्योम्बु) अथवा सातु पाल्नु भनीन्छ ।यो सातु पाल्ने कार्य ३ देखी ७ हप्ता सम्म लाग्न सकीन्छ। मृत्यु भएको दिन देखी घ्यवा नसकुन्जेल सम्म प्रतेक हप्ता अरु लामाहरु बोलाई पुजा गरीन्छ। यस पुजालाई दिन्जी भनीन्छ। मृत्यु भएको ३ देखी ७ साता भित्र लामा पुरोहीतहरु बोलाई पुजा गरी नातादारहरु, मित्रहरु बोलाई प्रसाद् बाँडेर घ्यवा सम्पन्न गरीन्छ। मृतकको सम्झनामा प्रतेक बर्ष पुजा गर्ने चलन पनि छ। यसलाई लोम्ज्यु अथवा गोङ्जो भनीन्छ। शेर्पाहरुको मरण संस्कारमा अपनाईने कर्मकाण्डको बिबरण तल दिईएकोछ।

फोवा ग्यकु,
यसको शाब्दिकअर्थ स्थानतरण गर्नु वा ठाँउ सार्नु हो। यो मृत्यूशैयामा रहेको व्यक्तिको सास जान लाग्दा लामा गुरुजन द्वारा अध्यात्मीक मन्त्र शक्तिबाट मरणासन्न व्यक्तिको आत्मा (नम्शी) लाई शिरको ब्रह्माण्ड बाट छिराई सुगति र शुद्ध भुवनमा उद्धार गर्ने तान्त्रीक विधि हो। शेर्पाहरु यस बिधीको शिक्षा लाई मरणासन्न अवस्थामा मात्र नभइ जिवीत हुँदा पनि ग्रहण गर्दछन। कदाचीत कुनै व्यक्तिको मृत्यु अचानक भएमा यथासम्भव चाँडो फोवा ग्यकु गर्ने व्यवस्था गरिन्छ।

थोटोल रोकु
यसको शाब्दिक अर्थ हो श्रवण मुक्ति अथवा सुद्धहुनु। मृत्यूशैयामा रहेको मरणासन्न व्यक्तिलाई एकजना लामाले थोटोल पाठगरि सुनाईन्छ। यस थोटोल पाठमा व्यक्तिको मृत्यूभएको दिन देखि ४९ दिन (स्यग शिब्च्यु श्येगु) सम्मको बिचमा मृतकलाई हुने बिभीन्न डर त्रासको अनुभूति र त्यसको निबारणको ऊपायहरु बारे बताईएको हुन्छ। यसरी ७ हप्ता सम्म थोटोल बाचन गरेमा जस्तै महापापी पनि शुद्ध भई मुक्त हुन्छ भनिएकोछ।
ठुसोल खिरु
यसको शाब्दिक अर्थ सुद्ध पार्नु हो। व्यक्तिको शरीरबाट प्राण निसकेर गएपछि मृत शरीरलाई धोएर सफापार्ने, लामा गुरुजन बाट अभिसिन्चीत शुद्ध जल ले सिन्चीत गरि शुद्ध पारीन्छ।
रो गोङगु
ठुसोलको बिधी सम्पन्न भएपछी लासलाई सेतो कपडाले बेह्री ध्यान गरेजस्तै गरि राखने बिधीलाई रो जोङगु (मुर्दा पोको पार्नु) र मुर्दालाई डल्लो पार्ने बिधीलाई फुङबो गोङगु भनिन्छ।
सेम्सो खिरु
यसको शाब्दिक अर्थ सान्त्वना दिनुहो। मृत्युको कारणबाट घर परिवारमा परेको दुखमा सहभागी हुन मृतकका आफन्तहरु बत्तीबालने घ्यु, पर्सादको लागी फलफुल, र पैसा राखी सान्त्वना प्रगट गर्छन।
केम्क्षाङ गेङगु
मृतकको लास वा लासको बदलामा बनाईएको पुतला (तेन) को अगाडी आफन्तहरु र छरछिमेकी हरुले पेयपदार्थ तथा फलफुलहरु राखी सम्मान दिने चलन लाई केम्क्षाङ गेङगु भनीन्छ।
लम्तेन लामा
मृतकको दाह संस्कारको लागी लाने समयमा बाटो देखाउनलाई एक जना लामाले लामो खता वा कपडाको एक छेउ लामाले र अर्को छेउ मलामीले समाती लामाले डोराएर लाने गर्दछ। यसरी बाटो देखाउने लामालाई लम्तेन लामा (बाटो देखाउने लामा) भन्दछन।
च्यब्तर लोङगु
मृतकको दाह संस्कारको लागी लाने समयमा पन्चरङगी ध्वजाहरु निलो, सेतो, हरियो, रातो र पहेंलो रङको पन्च रंगी बुद्धको प्रतिकको रुपमा मलामीको अघिअघि लामबद्ध भई जाने प्रचलन लाई च्यब्तर लोङगु भनिन्छ।
दीन्जीन तोङगु
मृतकको आत्माको चीर शान्ति र पापमोचनको निमीत्त मृतकको परिवारले मृत्यु भएको दिन देखी प्रतेक सात सात दिनमा घ्यवा नहुन्जेल सम्म गरिने पुजालाई दीन्जीन तोङगु, भनिन्छ।
न्यापोर
मृतकको आत्मालाई यस दुखमय लोकमा नबस, बुद्धको सुखमय लोकमा जानु भनि तान्त्रीक बिधीबाट घ्यवा नसकुन्जेल प्रतेक सात सात दिनमा गरिने अनुष्ठानलाई न्यापोर भन्दछ।
झिन्सक लुकु
मृतदेहको दाहसंस्कारको लागी आगो लगाएपछी मृतकको पाप शोधनको लागी लामा हरुबाट गरिने सामुहीक यज्ञलाई झिन्सक लुकु भन्दछन।
लग्प रब्छे
चिहानमा लासको दाहसंस्कार गरिसके पछी मलामीहरु सबैलाई दक्षिणा स्वरुप केही रकम बितरण गरिने चलन छ। यसलाई लग्प रब्छे भन्दछन।

थुटी सुम्पु
घाटमा लास जलाई सके पछी त्यहाँ रहन गएको अस्तुहरु र हाडका टुक्राहरु र खरानीहरु जम्मा गरि खोलामा बिसर्जन गर्ने बिधीलाई थुटी सुम्पु भनीन्छ।
पुर्खाङ ग्यकु
मुर्दा जलाएको व्यक्तिगत घाटहरुमा चैत्य बनाई मृतकको अस्तु, सामानहरु राखने परिपाटीलाई पुर्खाङ ग्यकु भनीन्छ।
छपर ग्यकु
मृतकको अस्तु धातुलाई धुलो पारेर सफा र सुद्ध माटोमा मिसाई लेदो बनाई ससाना स्तुपा भएको ब्लकमा राखी निकालेको चैत्यलाई लामा बाट प्राणप्रतिष्ठा (रब्ने) गरि अग्लो, सफा र गुम्बाहरुको आसपासमा राखिने परम्परालाई छपर ग्यकु भनिन्छ।
क्येल्हा श्येङगु
मृतकले जन्मलिने संसारको स्थापना गर्नलाई ज्योतिष शास्त्रको आधारमा मृतकको नाम बाट बिभीन्न मुर्ति वा थङका बनाई लामाबाट प्राण प्रतिषठा गराई राखेमा मृतकले सुगतिमा जन्म लिने बिश्वाश गरिन्छ। यस प्रकृयालाई क्येल्हा श्येङगु भनिन्छ।
क्षङ्गा
मृत्युभएको ४९ दिन भित्र आफ्नो गच्छेअनुसार लामाहरु बोलाई पाठपुजा गराई दान दक्षिणा अर्पण गर्ने र आफ्नो नातेदारहरु, छरछिमेकीहरु र ईष्टमित्रहरुलाई आमन्त्रण गरि खाना खुवाई पर्शादहरु बाँडेर मृतकको नाममा गरिने पुजा सम्पन्न गरिन्छ। यस अनुष्ठानलाई घ्येवा (क्षङ्गा) भनिन्छ।
लोम्ज्यु
व्यक्ति देहबसान भएको दिनको बर्षदिनमा त्यसव्यक्तिको स्मरणमा गरिने बार्षीक पुजालाई लोम्ज्यु भनिन्छ।




Laser 5210N Free counter and web stats